Section 21
सरुवा गर्दा वा काजमा खटाउँदा लिइने आधार
(१) कर्मचारीलाई देशको विभिन्न भौगोलिक क्षेत्रको अनुभव दिलाउने गरी अति दुर्गम, दुर्गम र सुगम क्षेत्रमा सरुवा गरिनेछ ।
(२) भौगोलिक दृष्टिले अति दुर्गम, दुर्गम र सुगम क्षेत्रको विभाजन तथा उपविभाजन तोकिएबमोजिम हुनेछ ।
(३) कर्मचारीलाई अति दुर्गम क्षेत्रमा कम्तीमा एक वर्ष वा दुर्गम क्षेत्रमा कम्तीमा दुई वर्ष पूरा नभई सामान्यतया सरुवा गरिने छैन ।
स्पष्टीकरणः यस उपदफाको प्रयोजनको लागि “एक वर्ष” भन्नाले कम्तीमा २३३ दिन रुजु हाजिर भएको अवधिलाई मानिनेछ ।
(४) कुनै पनि कर्मचारीलाई एक वर्षमा तीस दिन भन्दा बढी समयको लागि कुनै कार्यालयमा काजमा खटाउन पाइने छैन । सो अवधिभन्दा बढी अवधिको लागि कुनै कर्मचारीलाई काजमा खटाइएकोमा त्यसरी काज खटाइएको अवधिमा त्यस्तो कर्मचारीले पाएको तलब भत्ताको रकम त्यसरी काज खटाउने पदाधिकारीको तलब भत्ताबाट कट्टा गरी असूल उपर गरिनेछ ।
(५) उपदफा (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्थामा तीस दिनभन्दा बढी अवधिको लागि कुनै कर्मचारीलाई काजमा खटाउन सकिनेछः–
(क) प्राकृतिक प्रकोप वा संक्रामक रोगको उपचारको लागि वा नेपाल सरकारबाट मनोनयन भई कुनै तालिम, सेमिनार, गोष्ठी वा राष्ट्रिय कार्यक्रममा भाग लिन,
(ख) कुनै पदमा कायम मुकायम मुकरर गर्न,
(ग) कार्यालय प्रमुख वा एकाइ कार्यालय प्रमुखको रिक्त पद तत्काल पूर्ति गर्न नसकिने अवस्थामा सो काम गर्न ।
(६) उपदफा (३) बमोजिम अति दुर्गम वा दुर्गम क्षेत्रमा सरुवा भएको कर्मचारी उपदफा (५) बमोजिम तालिम, सेमिनार, गोष्ठी वा राष्ट्रिय कार्यक्रममा काज खटिएमा त्यसरी काज खटिएको अवधिभर त्यस्तो कर्मचारीले अति दुर्गम वा दुर्गम क्षेत्रमा काम गरेको मानिने छैन ।